Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यर्मिया 33
पुनर्स्थापनाको प्रतिज्ञा
यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रोपल्ट तिनीकहाँ आयो: “याहवेह यसो भन्नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो: ‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’ किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।
“ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु। म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु। तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अपराधबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। मेरो विरुद्धमा तिनीहरूले गरेका सबै पाप र विद्रोहहरूलाई क्षमा गर्नेछु। तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’
“याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्, एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्नेछन्,
“सेनाहरूका याहवेहलाई धन्यवाद चढाओ;
किनकि सेनाहरूका याहवेह भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।”
किनकि यस देशको सुख-शान्ति फेरि फर्काएर पहिलेको जस्तै म पुनर्निर्माण गरिदिनेछु,’ याहवेह यसो भन्नुहुन्छ।
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्। यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्नेछन्, याहवेह यसो भन्नुहुन्छ।
“ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु।
“ ‘ती दिनहरूमा र त्यस समयमा
म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु;
त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ।
ती दिनहरूमा यहूदा बचाइनेछ,
र यरूशलेम सुरक्षितसाथ रहनेछ।
तिनलाई यही नामद्वारा बोलाइनेछ:
याहवेह, हाम्रा धार्मिक उद्धारकर्ता।’
किनकि याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन; न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”
याहवेहको वचन यर्मियाकहाँ आयो: “याहवेह यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने, तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन। म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
याहवेहको वचन यर्मियाकहाँ आयो: “के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य1 यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्। याहवेह यसो भन्नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने, म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”
Source notes (1)
- Footnote अथवा परिवारहरू
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.