Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

याकोब 2

पक्षपात निषेध

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर। मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो; यदि तिमीहरूले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने, के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र?

मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्‍नुभएको होइन र? तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्? के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ?

यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर”1 भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ। तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ। किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्‍लङ्घन गर्नेजस्तै दोषी हुनेछ। किनकि जसले “व्यभिचार नगर्नू”2 भन्‍नुभयो, उहाँले “मानव हत्या नगर्नू”3 पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्‍लङ्घन गर्नेहरू भयौ।

स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।

विश्‍वास र काम

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र? मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ।

तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।”

कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु। परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।

ए मूर्ख हो, के कामविनाको विश्‍वास व्यर्थ4 हो भनेर तिमी बुझ्दैनौ? आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र? तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो। “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो”5 भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए। तिमीहरू देख्छौ, विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।

यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्,6 तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र? जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।

Source notes (6)
  1. Footnote लेवी 19:18
  2. Footnote प्रस 20:14; व्यव 5:18
  3. Footnote प्रस 20:13; व्यव 5:17
  4. Footnote केही प्राचीन पा.लि.हरूमा मृत
  5. Footnote उत्प 15:6
  6. Footnote यहो 2:21

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.