Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 9

तरै पनि त्यो सङ्कष्‍टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्‍तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ—

अन्धकारमा जिउनेहरूले

एउटा ठूलो ज्योति देखेका छन्;

घोर अन्धकारमा बस्‍नेहरूमाथि

ज्योति उदाएको छ।

तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ;

अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ;

मानिसहरूले कटनीमा रमाएझैँ

लुटको माल बाँड्दा रमाएझैँ,

तिनीहरू तपाईंको सामु

रमाउनेछन्।

किनकि मिद्यानको पराजयको दिनमा झैँ

तपाईंले तिनीहरूलाई भार भएको जुवा,

र तिनीहरूका काँधमा परेको बोझ,

साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई

भाँचिदिनुभएको छ।

प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता,

र रगतमा लतपतिएको

हरेक वस्त्र आगोमा भस्म हुनेछ।

त्यो आगोको निम्ति इन्धन हुनेछ।

किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;

हाम्रा निम्ति एउटा पुत्र दिइएको छ।

शासन उहाँको काँधमा हुनेछ।

उहाँलाई उदेकको सल्‍लाहकार,

शक्तिशाली परमेश्‍वर,

सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।

उहाँको शासन वृद्धि र शान्तिको

अन्त्य हुनेछैन।

उहाँले दावीदको सिंहासनमाथि

र तिनका राज्यमाथि शासन गर्नुहुनेछ।

उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म

न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ।

सेनाहरूका याहवेहको जोशले

यसलाई सम्पन्‍न गर्नेछ।

इस्राएलमाथि याहवेहको क्रोध

प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ;

जुन इस्राएलमाथि पर्नेछ।

सबै मानिसहरूले त्यसलाई जान्‍नेछन्;

एफ्राइम र सामरियाका बासिन्दाहरू,

जो घमण्ड र अभिमानको

हृदयले यसो भन्छन्,

“इँटाहरू लडेका छन्,

तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ;

नेभाराका रूखहरू ढालिएका छन्,

तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।”

तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ;

अनि तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ।

पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले

मुख खोलेर इस्राएललाई खाएका छन्।

यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,

तर उहाँको हात अझै पनि उठिराखेकै छ।

तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्,

न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्।

यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर,

खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ।

प्रधानहरू र विशिष्‍ट व्यक्तिहरू शिर हुन्;

अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।

यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्,

र डोर्‍याइएकाहरू बरालिएका छन्।

यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्‍न हुनुहुनेछैन।

न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ।

किनकि हरेक मानिस ईश्‍वरहीन र दुष्‍ट छ;

प्रत्येक मुखले नीच कुरा बोल्छ।

यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन;

उहाँको हात उठिराखेकै छ।

किनकि निश्‍चय नै दुष्‍टता आगोझैँ बल्छ;

यसले सिउँडी र काँडालाई भस्म पार्नेछ;

यसले वनका झाडीहरू आगो लगाइदिनेछ,

र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।

सेनाहरूका याहवेहको क्रोधद्वारा

सबै देश भस्म हुनेछ;

अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्;

कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन।

तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ,

र पनि अझ भोकै रहनेछ;

देब्रेतिर तिनीहरूले खानेछन्,

तर तृप्‍त हुनेछैनन्।

प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ:

मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ;

ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्।

यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,

तर उहाँको हात अझै उठिराखेकै छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.