Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 62

सियोनको नयाँ नाम

यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म,

त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म,

म सियोनको खातिर चुप रहनेछैनँ;

म यरूशलेमको खातिर मौन रहनेछैनँ।

जाति-जातिहरूले तेरो धार्मिकता,

सबै राजाहरूले तेरो गौरव देख्नेछन्;

याहवेहले आफ्नै मुखले दिनुहुने

नयाँ नामद्वारा तँ बोलाइनेछस्।

तँ याहवेहको हातमा गौरवको एउटा मुकुट,

र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।

अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्,

न त तेरो देशलाई उजाड भन्‍नेछन्।

तर तँलाई हेप्सीबा,1

र तेरो देशलाई ब्युलाह2 भनिनेछ;

किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ,

र तेरो देशलाई विवाह गरिनेछ।

जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ,

त्यसरी नै तेरा निर्माणकर्ताले3 तँलाई विवाह गर्नुहुनेछ;

जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ,

त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।

हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु;

तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्।

हे याहवेहलाई पुकार्नेहरू हो,

आफूलाई विश्राम नदेओ;

उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म

र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।

याहवेहले आफ्नो दाहिने हात

र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ:

“म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई

भोजनको निम्ति दिनेछैनँ;

अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्,

त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।

तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्,

र याहवेहको प्रशंसा गर्नेछन्;

अनि जसले अङ्‌गुर बटुल्नेछन्,

तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”

जाओ, मूलढोकाहरूबाट भएर जाओ!

मानिसहरूका निम्ति बाटो तयार पार।

बनाओ, राजमार्ग बनाओ!

ढुङ्गाहरू हटाओ।

जाति-जातिहरूका निम्ति झण्डा खडा गर।

याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म

घोषणा गर्नुभएको छ:

“सियोनकी छोरीलाई भन,

‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ!

हेर्, उहाँको पुरस्कार उहाँसित छ,

र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”

तिनीहरू पवित्र जाति,

याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्;

तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर,

नत्यागिएको सहर भनिनेछ।

Source notes (3)
  1. Footnote हेप्सीबा जसको अर्थ उसमा मेरो खुशी छ।
  2. Footnote ब्युलाह जसको अर्थ विवाहित
  3. Footnote अथवा छोराहरू

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.