Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 54

सियोनको भावी महिमा

“हे बाँझी स्त्री, गीत गा!

तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;

आनन्दसाथ र चर्को सोरमा करा;

तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्;

किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ

पति भएकी स्त्रीको भन्दा धेरै छन्,”

याहवेह भन्‍नुहुन्छ।

“तेरो पालको ठाउँ बढा,

आफ्नो पालको पर्दाहरू तन्का,

बाँकी नराख्;

तेरा डोरीहरू लामो पार्,

तेरा किलाहरू बलियो पार्।

किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्;

तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्;

अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।

“नडरा, तँ शर्ममा पर्नेछैनस्।

अपमानसित नडरा, तँ होच्याइनेछैनस्।

तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्;

अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।

किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ;

उहाँको नाम सेनाहरूका याहवेह हो;

इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ;

उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।

तेरा परमेश्‍वर भन्‍नुहुन्छ,

त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ

र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ

याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।

केही समयको लागि मैले तँलाई त्यागेको थिएँ,

तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।

रिसको झोँकमा मैले आफ्नो अनुहार

केही समयको निम्ति तँदेखि लुकाएँ;

तर अनन्तको करूणासहित

म तँमाथि कृपा देखाउनेछु”

याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।

“यो मेरो निम्ति नोआको समयजस्तै हो;

किनभने नोआका समयमा पानीजस्तै फेरि

पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु।

यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ;

तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।

पहाडहरू हल्‍लाइए

र डाँडाहरू हटाइए तापनि

तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,

न त शान्तिको मेरो करार हटाइनेछ”

तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।

“हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर,

म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु;

तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।

म तेरा सुरक्षा पर्खालहरू लालमणिले,

तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले,

र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।

तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;

अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।

तँ धार्मिकतामा स्थापित गरिनेछस्:

अत्याचार तँबाट टाढा रहनेछ;

तँ कुनै कुरामा डराउनुपर्नेछैन।

आतङ्क टाढा हटाइनेछ,

र त्यो तेरो छेउ पर्नेछैन।

यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन;

तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।

“हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ,

जसले कोइला फुकेर ज्वाला बनाउँछ,

र काम गर्ने ठिक हतियार बनाउँछ।

उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;

तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;

अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्।

याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो,

र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो”

याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.