Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 52

हे सियोन, जाग्, जाग्,

तेरो बल धारण गर्।

हे पवित्र सहर यरूशलेम,

तेरो महिमाको पोशाक लगा;

खतना नभएकाहरू र अशुद्धहरू

तँभित्र फेरि पस्‍नेछैनन्।

हे यरूशलेम, तेरो धुलो टक्टक्या;

उठ्, र सिंहासनमा बस्।

हे सियोनकी कैदी छोरी

तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।

किनकि याहवेह यसो भन्‍नुहुन्छ:

“तँ सित्तैँमा बेचिएकी थिइस्,

र तँ रकमविना नै छुटाइनेछस्।”

किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

“सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए;

अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।

“अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ।

“किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्;

अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,”

याहवेह घोषणा गर्नुहुन्छ।

“अनि दिनभरि नै

मेरो नामको निन्दा लगातार भइरहन्छ।

यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्;

यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी

त्यस दिन तिनीहरूले जान्‍नेछन्।

हो, त्यो म नै हुँ।”

सुसमाचार ल्याउनेहरू,

शान्ति घोषणा गर्नेहरू,

उद्धार घोषणा गर्नेहरू,

सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!”

सुसमाचार ल्याउनेहरूका पाउ

पहाडहरूहुँदो कति सुन्दर!

सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्;

तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्।

जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ,

तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।

हे यरूशलेमका भग्नावशेषहरू हो,

आनन्दका गीतहरू जोडसित एकसाथ गाओ;

किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ;

उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।

सबै जातिहरूले देख्ने गरी

याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ;

पृथ्वीको पल्‍लो छेउका मानिसहरूले

हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्।

गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल!

कुनै अशुद्ध थोक नछोओ!

तिमीहरू जो याहवेहका पात्र बोक्छौ,

त्यसबाट निस्केर आओ र शुद्ध होओ!

तर तिमीहरू हतार-हतार गरी जानेछैनौ;

अनि न त भागेर जानेछौ;

किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ,

र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।

सेवकको कष्‍ट र गौरव

हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ;

ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।

जसरी उसदेखि धेरै जना चकित थिए—

उसको अनुहार चिन्‍नै नसकिने गरी

र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—

त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ;

उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्।

किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्;

तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.