Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 5

दाखबारीको गीत

अब म मेरो प्रियको निम्ति

र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु:

एउटा मलिलो डाँडामा

मेरा प्रियको एउटा दाखबारी थियो।

उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो;

अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो।

उहाँले त्यसमा एउटा मचान बनाउनुभयो;

अनि एउटा कोल पनि खोप्नुभयो।

तब उहाँले असल दाखको आशा राख्नुभयो,

तर त्यसले खराब फल फलायो।

“अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो,

म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ।

मेरो दाखबारीका निम्ति मैले जति गरेँ,

त्योभन्दा बढी के गरिनुपर्नेथियो र?

मैले असल दाखको आशा गर्दा

किन त्यसले खराब फल फलायो?

अब म तिमीहरूलाई भन्‍नेछु,

कि आफ्नो दाखबारीलाई म के गर्नेछु।

म त्यसको बार निकालिदिनेछु,

र त्यो नाश हुनेछ;

म त्यसको पर्खाल भत्काइदिनेछु,

र त्यो कुल्चीमिल्ची पारिनेछ।

म त्यसलाई नछिमलेको र नगोडिएको

उजाडभूमि बनाइदिनेछु;

अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्।

त्यसमा पानी नपरोस् भनेर,

म बादललाई आज्ञा गर्नेछु।”

सेनाहरूका याहवेहको दाखबारी

इस्राएलको घराना हो,

र यहूदाका मानिसहरू

उहाँलाई मनपर्ने बगैँचा हो।

उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो;

धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो।

धिक्‍कार र न्याय

धिक्‍कार तिमीहरूलाई,

जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ;

अनि खेतमा खेत जोड्छौ,

र देशमा आफू मात्र बस्छौ।

सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ:

“निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्,

सुन्दर भवनहरू निर्जन हुनेछन्।

पाँच बिघा दाखबारीले एक बाथ1 दाखरस मात्र दिनेछ;

एक होमेर2 बिउले एक एपा3 अन्‍न मात्र दिनेछ।”

धिक्‍कार तिनीहरूलाई,

जो मद्यको निम्ति एकाबिहानै उठ्छन्,

जो मद्यले नमातुन्जेल

आधा रातसम्म बस्छन्।

तिनीहरूसित भोजमा वीणा र सारङ्गी,

खैँजडी, बाँसुरी र मद्य हुन्छन्,

तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन;

उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।

यसकारण समझशक्तिको अभावले गर्दा

मेरा प्रजा देशबाट निकालिनेछन्;

तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्;

अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।

यसकारण चिहानले आफ्नो मुख खोल्छ,

र आफ्नो मुख ठूलो उघार्छ;

त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह

तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्।

यसरी मानिस होच्याइनेछ;

अनि हरेक जन नम्र बनाइनेछ,

अभिमानीका आँखा नम्र पारिनेछन्।

तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ,

पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ।

तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्;

तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्।

धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्;

अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्,

जसले यसो भन्छन्, “परमेश्‍वरले हतार गरून्;

उहाँले आफ्नो काम चाँडो गरून्,

ताकि हामीले त्यो देख्न सकौँ।

इस्राएलका पवित्र परमेश्‍वरको योजना आओस्,

त्यो नजिक आओस्,

ताकि हामीले जान्‍न सकौँ।”

धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल

र असललाई दुष्‍ट भन्छन्,

जसले उज्यालोको सट्टा अँध्यारोलाई

र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्;

जसले मिठोको सट्टामा तितो,

र तितोको सट्टा मिठो राख्छन्।

धिक्‍कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्;

अनि आफ्नै दृष्‍टिमा चतुर छन्।

धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्;

अनि मद्य मिसाउन सिपालु छन्,

जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्,

तर निर्दोषलाई न्याय दिँदैनन्।

यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ

र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ

तिनीहरूका जरा सडिजाने छन्,

र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्;

किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्;

अनि इस्राएलका पवित्र परमेश्‍वरको वचनलाई लत्याएका छन्।

यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ;

उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ।

पर्वतहरू काँप्छन्,

र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्।

यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,

तर उहाँको हात अझै पनि उठिराखेकै छ।

उहाँले टाढाका जातिहरूको निम्ति

एउटा झण्डा खडा गर्नुहुनेछ;

उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ।

तिनीहरू द्रूत गतिले आउँछन्!

तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्,

कोही पनि झुल्दैनन्, न त निदाउँछन्।

एउटै पेटी पनि खुकुलो हुँदैन,

जुत्ताका एउटै फित्ता पनि चुँडिदैन।

तिनीहरूका काँडहरू तीखा छन्,

सबै धनुहरूमा ताँदो चढाइएका छन्;

तिनीहरूका घोडाका टाप बज्रझैँ छन्,

तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ।

तिनीहरूका गर्जन सिंहको झैँ छ,

तिनीहरू जवान सिंहझैँ गर्जन्छन्;

आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्;

अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्।

त्यस दिन तिनीहरू

त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्।

अनि यदि कसैले देशलाई हेर्‍यो भने,

त्यसले अन्धकार र सङ्कष्‍ट देख्नेछ;

यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ।

Source notes (3)
  1. Footnote लगभग 22 लिटर
  2. Footnote लगभग 160 किलो
  3. Footnote लगभग 16 किलो

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.