Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 46

बेबिलोनका देवताहरू

बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ;

तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्।

तिनीहरूले लिएर हिँडेका मूर्तिहरू

थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।

त्यस भारबाट मुक्त हुन नसकेर

तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्;

तिनीहरू आफैँ कैदमा गइहाल्छन्।

“हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,

इस्राएलका घरानाका बाँचेकाहरू सबै,

जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु,

र जन्मेको घडीदेखि नै मैले बोकेको छु।

तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;

म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।

मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;

म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।

“तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ?

मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?

कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन्

र तराजुमा चाँदी जोख्छन्;

तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्,

र घोप्टेर त्यसलाई पुज्छन्।

त्यसलाई काँधमा उठाएर बोक्छन्;

अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ।

त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन।

कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन;

त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।

“हे बागीहरू हो, यो याद राख,

मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।

ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ;

किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन;

म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।

म अन्तिमका कुराहरू पहिल्यैदेखि नै;

र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु।

म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ,

र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’

पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु;

मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु।

मैले जे भनेको छु, त्यो म गर्नेछु;

मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।

हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन;

तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।

म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु;

यो टाढा छैन,

र मेरो उद्धार ढिलो हुनेछैन।

मेरो उद्धार सियोनलाई दिनेछु,

मेरो गौरव इस्राएललाई दिनेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.