Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यशैया 33
सङ्कष्ट र सहायता
धिक्कार तँ नाशकर्तालाई,
जो नष्ट पारिएको छैनस्!
धिक्कार तँ विश्वासघातीलाई,
जसले धोका पाएको छैनस्!
जब तैँले नष्ट गर्न छोड्छस्,
तब तँ नष्ट पारिनेछस्;
जब तैँले विश्वासघात गर्न छोड्छस्,
तब तिनीहरूले तँसँग विश्वासघात गर्नेछन्।
हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्;
हामी तपाईंको बाटो हेरिरहन्छौँ;
हरेक बिहान हाम्रो सामर्थ्य
र विपत्तिमा हाम्रो मुक्ति बन्नुहोस्।
तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्;
तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।
हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ;
मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्।
याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्च स्थानमा विराजमान हुनुहुन्छ;
उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।
उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग;
मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ;
याहवेहको भय नै यस भण्डारको साँचो हो।
हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्;
शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।
राजमार्गहरू त्यागिएका छन्;
बाटोमा कुनै यात्री छैन।
सन्धि तोडिएको छ;
त्यसका गवाहीहरूलाई घृणा गरिन्छ;
कसैको आदर छैन।
देशले विलाप गर्छ र चिन्तामा छ;
लेबनान लज्जित भएर ओइलाउँछ;
शारोन अराबाझैँ छ,
बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
“अब म उठ्नेछु” याहवेह भन्नुहुन्छ।
“अब म उच्च पारिनेछु;
अब म उचालिनेछु।
तिमीहरूले भुसलाई गर्भधारण गर्छौ,
तिमीहरूले पराल जन्माउँछौ;
तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो।
मानिसहरू चून जलेझैँ जल्नेछन्;
काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।”
हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन!
तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर!
सियोनमा भएका पापीहरू आतङ्कित छन्;
भक्तिहीनलाई कम्पनले समातेको छ;
“हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्न सक्ला?
हामीमध्ये को अनन्तको जलनसित बस्न सक्ला?”
त्यही मानिस, जो धार्मिकतामा चल्छ,
र जे ठिक छ, त्यही बोल्छ;
जसले लुटको लाभलाई इन्कार गर्छ,
र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ,
जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ,
र आफ्ना आँखा दुष्टता हेर्नबाट बन्द गर्छ;
यस्तो मानिस उच्च स्थानहरूमा वास गर्नेछ,
जसको शरणस्थान पहाडको किल्ला हुनेछ।
त्यसलाई रोटी जुटाइनेछ,
र त्यसलाई पानीको अभाव हुनेछैन।
तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ,
र टाढासम्म फैलिएको देशलाई देख्नेछ।
तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्:
“त्यो प्रमुख अधिकृत कहाँ छ?
कर असुल गर्ने खोइ?
धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?”
तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्;
ती अस्पष्ट बोली भएका मानिसहरूलाई,
जसको बोली बुझिँदैन।
हाम्रा चाडहरूको सहर, सियोनलाई हेर;
तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ;
एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन;
त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्;
न त त्यसका कुनै डोरी चुँडाइनेछ।
त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्वर हुनुहुनेछ।
त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ।
पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन;
कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।
किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ;
याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ;
याहवेह हाम्रा राजा हुनुहुन्छ;
हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
तेरा डोरीहरू खुकुला भएका छन्:
मस्तुल सुरक्षित राखिएको छैन,
पाल फिँजिएको छैन।
तब लुटका प्रशस्त माल बाँडिनेछ,
र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्।
सियोनमा बस्ने कसैले पनि, “म बिरामी छु” भन्नेछैन;
अनि त्यहाँ बस्नेहरू सबैका पाप क्षमा गरिनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.