Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 32

धार्मिकताको राज्य

हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ;

अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।

हरेक मानिस बतासबाट जोगिने आश्रय

र आँधीबाट जोगिने शरणस्थानझैँ,

मरुभूमिमा पानीको खोलाझैँ,

र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।

तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन;

अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्।

अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ;

अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ।

मूर्खलाई फेरि भद्र भनिनेछैन,

न त बदमासलाई उच्‍च आदर दिइनेछ।

किनकि मूर्खले अज्ञानताको कुरा गर्छ,

त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ;

त्यसले भक्तिहीनताका कामहरू गर्छ;

अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ;

भोकोलाई त्यसले भोकै छोड्छ,

र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।

बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्,

र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि

गरिबहरूलाई झूटले नाश गर्नलाई

त्यसले दुष्‍ट योजनाहरू बनाउँछ।

तर भलादमीले भलो युक्ति रच्दछ;

अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।

यरूशलेमका स्त्रीहरू

हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो,

उठ र मेरो कुरा सुन;

आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो,

मैले भन्‍नुपर्ने कुरा सुन!

एक वर्षभन्दा केही बढी समयमा

तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ;

अङ्‌गुरको फसलै हुनेछैन,

र फलको कटनी हुनेछैन।

हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ;

आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम!

आफ्ना राम्रा लुगा फुकाल,

र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।

असल खेतहरूका निम्ति,

फलदायक दाखको निम्ति आफ्ना छाती पिट;

अनि मेरो जातिका देशको निम्ति,

काँडा र सिउँडीले ढाकेको देशका निम्ति—

हो, सबै आनन्द मनाउने घरहरूका निम्ति,

र यो आनन्दको सहरको निम्ति बिलौना गर।

किल्‍ला त्यागिनेछ,

हल्‍लाको सहर शून्य हुनेछ;

किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्;

जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;

जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन,

र मरुभूमि मलिलो खेत हुँदैन,

र मलिलो खेत जङ्गलझैँ देखिँदैन;

याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ।

अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।

धार्मिकताको फल शान्ति हुनेछ;

अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।

मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा,

सुरक्षित घरहरूमा र

शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्।

असिनाले जङ्गललाई पूरै ढाके तापनि

सहर पूर्ण रूपले समतल भए तापनि

तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै,

अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदा

तिमीहरू कति धन्यका हुनेछौ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.