Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यशैया 30
अटेरी जातिलाई धिक्कार
“धिक्कार! ती हठी सन्तानलाई,”
याहवेह घोषणा गर्नुहुन्छ,
“जसले योजनाहरू चलाउँछन्, जुन मेरा होइनन्;
जसले मित्रता गाँस्छन्, तर मेरो आत्माद्वारा होइन;
पापमाथि पाप थुपार्छन्;
मसित सल्लाह नलिएर,
जो इजिप्टमा जान्छन्;
जसले फारोदेखि सुरक्षाको आशा गर्छन्;
शरणका निम्ति इजिप्टको छहारी खोज्छन्।
तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ;
इजिप्टको छहारीले तिमीहरूमा अपमान ल्याउनेछ।
तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि
र तिनीहरूका दूतहरू हानेसमा आइपुगे तापनि
तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण,
जसले, न त सहायता ल्याउँछन्, न त लाभ नै दिन्छन्;
तर खाली शर्म र अपमान मात्र ल्याउँछन्;
तिनीहरूको कारण हरेक शर्ममा पर्नेछन्।”
दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी:
दुःख र वेदनाको देशबाट भएर,
जहाँबाट सिंह र सिंहनी, विषालु सर्प र उड्ने सर्पहरू निस्कन्छन्;
राजदूतहरूले आफ्ना धनसम्पत्ति
गधाहरूका पिठिउँमा र आफ्ना बहुमूल्य भण्डारहरू
ऊँटहरूका जुरोमा लदाएर त्यस जातिकहाँ लैजान्छन्,
जसले तिनीहरूलाई केही लाभ दिँदैनन्।
किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ,
यसकारण मैले त्यसलाई
केही नगर्ने राहाब1 भनेको छु।
अब जा, आउँदा दिनहरूका निम्ति
यो सधैँ साक्षी होस् भनेर,
तिनीहरूको सामु यो एउटा पाटीमा लेख;
यसलाई एउटा किताबमा लेखिराख।
यिनीहरू बागी मानिसहरू हुन्, छली सन्तान,
याहवेहको आज्ञा नसुन्ने सन्तान हुन्।
यिनीहरू दर्शीहरूलाई भन्छन्,
“अब उसो दर्शन नदेख!”
अनि अगमवक्ताहरूलाई भन्छन्,
“अबदेखि ठिक कुराहरूको दर्शन हामीलाई नदेओ!
हामीलाई चाखलाग्दा कुराहरू भनिदेओ,
छलका अगमवाणी भनिदेओ।
यस मार्गलाई त्यागिदेओ,
यस मार्गबाट हटिदेओ;
अनि हामीलाई इस्राएलका पवित्र परमेश्वरसित
आमने-सामने गराउन छोडिदेओ!”
यसकारण इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ:
“तिमीहरूले यस समाचारलाई इन्कार गरेका हुनाले,
र अत्याचारमा भरोसा गरेका हुनाले,
र छलमा भर परेका हुनाले,
यो पाप तिमीहरूका निम्ति
अग्लो पर्खाल चर्किएर ढल्न लागेजस्तै हुनेछ,
जुन अचानक एकै क्षणमा भत्किएर जानेछ।
यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर
जताततै छरपस्ट हुनेछ,
जसले गर्दा चुलोबाट कोइला झिक्नलाई,
अथवा इनारबाट पानी उघाउनलाई
एउटा सानो टुक्राधरि पाइनेछैन।”
प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्वर यही भन्नुहुन्छ:
“पश्चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ।
मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ,
तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ।
तिमीहरूले भन्यौ, ‘होइन, हामी घोडामा चढेर भाग्नेछौँ।’
यसकारण तिमीहरू भाग्नेछौ!
तिमीहरूले भन्यौ, ‘हामी चाँडो दगुर्ने घोडामा सवार हुनेछौँ।’
यसकारण तिमीहरूलाई खेद्नेहरू फूर्तिला हुनेछन्!
एक जनाले धम्काउँदा
एक हजार भाग्नेछन्;
पाँच जनाले धम्काउँदा
तिमीहरू सबै भागेर जानेछौ;
जबसम्म तिमीहरू पर्वतको टाकुरामा
रहेको झण्डाको डण्डाजस्तै,
डाँडामा भएको एउटा झण्डाझैँ रहँदैनौ।”
तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।
किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ।
उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ। प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ। तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्। तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्नेछौ।
तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्। खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्। त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्। याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
हेर, याहवेहको नाम टाढाबाट
बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ;
उहाँका ओठहरू क्रोधले पूर्ण छन्;
उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ।
उहाँको सास गर्दनसम्म उठ्ने
मुसलधारे पानीजस्तो छ।
उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ;
र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ,
जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ।
तिमीहरूले पवित्र चाड
मनाएको रातमा झैँ गीत गाउनेछौ;
मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा,
इस्राएलका चट्टानकहाँ जाँदा,
तिमीहरूका हृदय
आनन्दित हुनेछ।
रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला,
गड्याङ-गुडुङ, आँधीबेहरी र असिनासहित
याहवेहले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न
र आफ्नो बाहुबलको शक्ति हेर्न लगाउनुहुनेछ।
याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ;
आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा,
उहाँले आफ्नो दण्डको लहुरोले
प्रत्येक चोटि तिनीहरूलाई सजायको रूपमा प्रहार गर्नुहुँदा,
चोट खैँजडी र वीणाको सङ्गीतको तालमा हुनेछ।
तोपेत तयार भइसकेको छ;
राजाका निम्ति त्यो तयार पारिएको छ।
त्यसको अग्निकुण्ड प्रशस्त आगो र दाउरासित;
गहिरो र चौडा तयार पारिएको छ;
बल्दैगरेको गन्धकको खोलाझैँ
याहवेहको सासले
त्यसलाई दन्काइदिनेछ।
Source notes (1)
- Footnote राहाब यो प्राचीन साहित्यको काल्पनिक सामुद्रिक जन्तु हो
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.