Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 15

मोआबको विरुद्ध भविष्यवाणी

मोआबको बारेमा भविष्यवाणी:

मोआबको आर सहर नष्‍ट पारिएको छ,

त्यो एकै रातमा नाश भएको छ!

मोआबको कीर सहर नष्‍ट भएको छ;

त्यो एकै रातमा नाश भएको छ।

दीबोन त्यसको मन्दिरमा हुन्छ,

त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ;

मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ।

प्रत्येक शिर खौरिएको छ;

अनि प्रत्येक दाह्री काटिएको छ।

सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्;

घरका कौसीहरू र सार्वजनिक चोकहरूमा

तिनीहरू सबै लम्पसार परेर,

रुँदै विलाप गर्छन्।

हेश्बोन र एलालेह चीत्कार गर्छन्;

तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ।

यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्;

र तिनीहरूका हृदय व्याकुल भएका छन्।

मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ;

त्यसका भगुवाहरू सोअरसम्म नै,

एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्।

तिनीहरू लूहीत जाने उकालो,

रुँदै-रुँदै चढ्छन्;

होरोनैम जाने बाटोमा तिनीहरू

आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।

निम्रीमका पानी सुकिगएका छन्,

र घाँस ओइलाएको छ;

घाँसपात छँदैछैन,

र कुनै हरियो थोक छँदैछैन।

यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन

तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।

तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ;

तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ;

तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।

दिमोनका पानी रक्ताम्मे छन्,

तर म दिमोनमाथि अझ बढी ल्याउनेछु—

मोआबका भगुवाहरूमाथि

र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.