Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

होशे 2

“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’1 र दिदीबहिनीहरूलाई ‘रूहामा’2 भन्।

इस्राएलको दण्ड र पुनर्स्थापना

“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;

किनकि त्यो मेरी पत्नी होइनँ,

र म पनि त्यसको पति होइनँ।

त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप

र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।

नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,

र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु;

म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु;

त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु,

र त्यसलाई तिर्खाले मार्नेछु।

म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;

किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।

तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे,

र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे।

त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु,

जसले मलाई मेरो भोजन, पानी,

ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’

यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;

त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।

त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,

तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन;

त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन।

तब त्यसले भन्‍नेछे,

“म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु;

किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”

त्यसले बुझेकै छैन,

त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ;

मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ,

तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।

“यसकारण जब मेरो अन्‍न पाक्छ,

र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु।

त्यसको नग्नता ढाक्नलाई तयार गरिएको

मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।

यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु

त्यसलाई नाङ्गो पारिदिनेछु;

कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।

म त्यसका सबै उत्सवहरू:

त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू,

त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।

म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु,

जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे;

म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु,

र जङ्गली जनावरहरूले ती खानेछन्।

बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले

म त्यसलाई दण्ड दिनेछु;

त्यसले आफूलाई गरगहनाहरूले सिँगारी,

र आफ्ना प्रेमीहरूको पछि लागी,

तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;

म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु,

र त्यससँग मायालु कुरा गर्नेछु।

त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,

र आकोरको3 बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु।

त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ,

इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”

याहवेह घोषणा गर्नुहुन्छ,

“त्यस दिन तैँले मलाई ‘मेरो मालिक’;

भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।

म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;

तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।

त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,

आकाशका चराचुरुङ्गीहरू

र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु।

म देशबाट धनु, तरवार

र युद्ध हटाइदिनेछु,

ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।

म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;

म तँलाई धार्मिकतामा र न्यायमा,

प्रेममा र दयामा दुलही बनाउनेछु।

म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु;

अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”

याहवेह घोषणा गर्नुहुन्छ,

“त्यस दिन म जवाफ दिनेछु,

म आकाशलाई जवाफ दिनेछु,

र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;

अनि पृथ्वीले अन्‍नलाई;

नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ,

र तिनीहरूले यिजरेललाई4 जवाफ दिनेछन्।

म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;

मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।

मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,

त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु;

अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”

Source notes (4)
  1. Footnote अथवा मेरा मानिसहरू
  2. Footnote अथवा मेरा प्रिय
  3. Footnote जसको अर्थ हो, दुःख
  4. Footnote जसको अर्थ हो, परमेश्‍वरको बिरुवा

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.