Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

होशे 14

आशिष् ल्याउनका लागि पश्‍चात्ताप

हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की।

तेरा पापहरू नै तेरा पतनका कारण हुन्!

आफूसँग वचनहरू लिएर

याहवेहतिर फर्क।

उहाँलाई भन:

“हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्,

र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्,

ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।

अश्शूर देशले हामीलाई बचाउन सक्दैन;

हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ।

हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई

‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ;

किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”

“म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु,

र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु;

किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।

म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु;

त्यो लिली फूलझैँ फुल्नेछ।

लेबनानको देवदारुझैँ

त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;

त्यसका कलिला मुनाहरू बढ्नेछन्।

त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ,

र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।

मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्;

तिनीहरू अन्‍नझैँ लहलहाउने छन्;

तिनीहरू दाखको बोटझैँ फक्रनेछन्;

इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।

हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम?

म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु।

म हरियो धूपी सल्‍लाको रूखझैँ छु;

तेरो फल मबाट नै आउँछ।”

बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्।

समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्।

याहवेहका मार्गहरू ठिक छन्;

धर्मी जनहरू त्यसैमा हिँड्छन्,

तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.