Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

हिब्रूहरू 5

हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्। तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।

यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो:

“तिमी मेरा पुत्र हौ,

आज म तिम्रो पिता भएको छु।”1

अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ,

“मल्कीसेदेकको दर्जाबमोजिम

तिमी सदासर्वदाको लागि पुजारी हौ।”2

येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो।

पतनको विरुद्ध चेतावनी

हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ। वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ। तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

Source notes (2)
  1. Footnote भजन 2:7
  2. Footnote भजन 110:4

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.