Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

हबकूक 3

हबकूकको प्रार्थना

शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।

हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु;

हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु!

हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्;

हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्।

तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!

परमेश्‍वर तेमानबाट आउनुभयो,

पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला

उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो;

अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।

उहाँको गौरव सूर्योदय जस्तै थियो;

उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो,

जहाँ उहाँको शक्ति लुकेको थियो।

उहाँको अगाडि महामारी फैलिँदै गयो;

उहाँको पछि-पछि रूढी लाग्यो।

उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो;

उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले।

प्राचीन पर्वतहरू चकनाचुर भए;

अनि पुराना पहाडहरू ध्वस्त भए।

तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।

मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ;

मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।

हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो?

के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो?

जब तपाईं आफ्ना घोडा

र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो,

तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?

तपाईंले आफ्नो धनु निकाल्नुभयो,

र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला

तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;

तपाईंलाई देखेर पर्वतहरू थर्किए।

प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए;

गहिरो समुद्र गर्ज्यो

र त्यसका छालहरू माथिसम्म उठे।

वेगले उडेका तपाईंका वाणहरू चम्कँदा,

तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा,

आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए।

क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो,

र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।

तपाईं आफ्नो जातिलाई छुटकारा दिन

र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो।

तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर

त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।

जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए,

र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए,

तब तपाईंले त्यसको आफ्नै भालाले

त्यसको टाउको छेडिदिनुभयो।

तपाईंले महासागरलाई मन्थन गर्दै,

आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।

मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो;

त्यो आवाज सुनेर मेरा ओठहरू कामे;

मेरा हाडहरू भित्रभित्रै मक्‍किए,

र मेरा खुट्टाहरू थरथर कामे।

तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु,

जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।

चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,

र अङ्‌गुरको बोटमा फल नफलोस्;

चाहे जैतुनको रूखले फल नफलाओस्,

र खेतबारीले अन्‍नबाली नउब्जाओस्,

चाहे खोरमा भेडाबाख्रा

र गोठहरूमा गाईबस्तु नरहून्।

तापनि म याहवेहमा रमाउनेछु।

मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।

प्रभु याहवेह मेरो बल हुनुहुन्छ;

उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;

उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।

सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.