Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 42

योसेफका दाजुहरू इजिप्टमा गएका

जब इजिप्टमा प्रशस्त अन्‍न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?” उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।”

तब योसेफका दश जना दाजुहरू अन्‍न किन्‍नलाई इजिप्टमा गए। तर याकोबले योसेफका भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए। यसकारण अन्‍न किन्‍न जानेहरूमा इस्राएलका छोराहरू पनि थिए; किनकि कनानमा पनि अनिकाल परेको थियो।

त्यस समय योसेफचाहिँ इजिप्टका राज्यपाल थिए; अनि त्यहाँका सबै मानिसहरूलाई अन्‍न बेच्ने तिनी नै थिए। यसकारण योसेफका दाजुहरू आइपुगे, र उनीहरूले भुइँसम्म निहुरेर तिनलाई दण्डवत् गरे। योसेफले आफ्ना दाजुहरूलाई देख्नासाथै उनीहरूलाई चिने; तर तिनले नचिनेको भान पारेर रुखो सोरमा उनीहरूसित बोले। तिनले सोधे, “तिमीहरू कहाँबाट आएका हौ?”

उनीहरूले जवाफ दिए, “हामी कनान देशबाट अन्‍न किन्‍न आएका हौँ।”

योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्। अनि तिनले उनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने, “पक्‍कै पनि तिमीहरू जासुस हौ! हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।”

उनीहरूले जवाफ दिए, “होइन, हे प्रभु, हामी तपाईंका सेवकहरू अन्‍न किन्‍न आएका हौँ। हामी सबै एकै मानिसका छोराहरू हौँ। तपाईंका सेवकहरू इमानदार मानिसहरू हौँ, हामी जासुस होइनौँ।”

तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।”

तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्‍ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।”

योसेफले उनीहरूलाई भने, “मैले तिमीहरूलाई भनेझैँ तिमीहरू जासुसहरू हौ! अनि तिमीहरू यसरी जाँचिनेछौ: फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। तिमीहरूमध्ये एक जनालाई आफ्नो भाइ ल्याउन पठाओ; अनि अरूलाईचाहिँ थुनामा राखिनेछ, ताकि तिमीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर पत्ता लगाउन सकियोस्। यदि होइन भने फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरू जासुस हौ!” अनि तिनले उनीहरू सबैलाई तीन दिन थुनामा राखे।

तेस्रो दिनमा योसेफले उनीहरूलाई भने, “म परमेश्‍वरको भय मान्दछु; यदि तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू बाँच्नेछौ। तिमीहरू इमानदार मानिसहरू हौ भने तिमीहरूका दाजुभाइहरूमध्ये एक जना थुनामा रहोस्; अनि अरूचाहिँ अन्‍न लिएर भोकले ग्रस्त भएका तिमीहरूका घरानाकहाँ जाऊन्। तर तिमीहरूले आफ्नो कान्छो भाइलाई मकहाँ ल्याउनुपर्छ, ताकि तिमीहरूका कुराहरू साँचो ठहरियोस् र तिमीहरू मर्न नपरोस्।” तब उनीहरूले त्यसै गरे।

उनीहरूले आपसमा भने, “साँच्‍चै नै हामीले आफ्नो भाइलाई नराम्रो व्यवहार गरेको कारण दण्ड पाएका हौँ। त्यसले आफ्नो जीवनको निम्ति बिन्ती गर्दा हामीले त्यसलाई कति दुःखित भएको देखेका थियौँ, तर पनि हामीले सुनेनौँ; त्यसैकारण यो विपत्ति हामीमाथि आएको छ।”

रूबेनले भने, “के मैले तिमीहरूलाई त्यस केटाको विरुद्धमा पाप नगर भनेको थिइनँ? तर तिमीहरूले सुनेनौ! अब त हामीले त्यसको रगतको हिसाब दिनुपर्नेछ।” योसेफले दोभासेलाई प्रयोग गरेका हुनाले तिनले उनीहरूका कुरा बुझ्दैछन् भनेर उनीहरूले थाहा पाएनन्।

तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए।

योसेफले उनीहरूका बोराहरूमा अन्‍न भर्न र हरेकको बोरामा तिनीहरूका आ-आफ्नै चाँदीका पैसा हालिदिन र यात्राका निम्ति खानेकुराको प्रबन्ध गर्न हुकुम गरे। उनीहरूका निम्ति यी सबै गरिसकेपछि, उनीहरूले आफ्ना गधाहरूमाथि आफ्ना अन्‍नहरू लादे, र त्यहाँबाट गए।

उनीहरू राति बास बस्‍ने ठाउँमा रोकिएपछि तिनीहरूमध्ये एक जनाले आफ्नो गधालाई खानेकुरा दिनलाई आफ्नो बोरा खोले, तब बोराको मुखैमा आफ्नो पैसा देखे। तिनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो पैसा फर्काइएको रहेछ। हेर, त्यो त मेरो बोरामै छ।”

उनीहरू डरले खङ्‌ग्रङ्गै भए, र काँप्दै एक-अर्कालाई हेर्दै भने, “परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको हो?”

जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए; अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे। तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ। हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’

“तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ। अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ”

उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए। उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!”

तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।”

तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.