Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 31

याकोब लाबानकहाँबाट भागेका

याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।” अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।

तब याहवेहले याकोबलाई भन्‍नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।”

यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए। तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्‍वर मेरो साथमा रहनुभएको छ। मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ। तिमीहरूका पिताले मेरो ज्याला दश-दशपल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्‍वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन। उहाँले ‘टाटेपाटे पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले टाटेपाटे नै बियाउँथे; अनि उहाँले ‘धर्के पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले धर्के नै बियाउँथे। यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ।

“एक चोटि पशुहरूको प्रजनन्‌को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए। तब सपनामा परमेश्‍वरका दूतले मसँग यसो भन्दै बोल्नुभयो, ‘याकोब;’ मैले जवाफ दिएँ, ‘हजुर, म यहाँ छु।’ अनि उहाँले भन्‍नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु। म बेथेलका परमेश्‍वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ”

अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र? के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्‍न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ। परमेश्‍वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्‍चाकै हुन्। यसकारण परमेश्‍वरले तपाईंलाई जे-जे भन्‍नुभएको छ, त्यो गर्नुहोस्।”

तब याकोबले आफ्ना बालबच्‍चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए, अनि तिनले पद्दन-अराममा1 कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।

जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्। तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्‍क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए। यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे।

लाबान याकोबको पछि-पछि गएका

तेस्रो दिनमा याकोब भागे भनी जब लाबानलाई सुनाइयो; तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए। तब परमेश्‍वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्‍नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्‍नू।”

लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे। त्यसपछि लाबानले याकोबलाई भने, “तिमीले यस्तो के गर्‍यौ? तिमीले मलाई छलेर मेरा छोरीहरूलाई लडाइँका बन्दीहरूझैँ लिएर गयौ। तिमी किन सुटुक्‍क भागेर मलाई छल्यौ? तिमीले मलाई भनेको भए, खैँजडी र वीणाको सङ्गीत बजाएर गीत गाउँदै सहर्ष तिमीहरूलाई बिदा गर्नेथिएँ। तिमीले मलाई मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ समेत खान दिएनौ। तिमीले यसो गरेर मूर्खता गरेका छौ। मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्‍नू।’ अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्‍यौ?”

तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्‍नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ। तर यदि तपाईंले आफ्ना देवताहरू हामीमध्ये कोहीसित भेट्टाउनुभयो भने त्यो बाँच्नेछैन। यसकारण हाम्रा आफन्तहरूका सामु तपाईंको केही सामानहरू छन् भने आफैँ चिन्‍नुहोस्, र लैजानुहोस्।” तर ती देवताहरू राहेलले चोरेकी छन् भनेर याकोबलाई थाहै थिएन।

यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्।

राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।

तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ? तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्।

“यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ। जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो। मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो। यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दशपल्ट बदल्नुभयो। मेरा पिताका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्‍चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”

त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र? अब आऊ, तिमी र म, हामी एउटा करार बाँधौँ; अनि यो हामी बीचमा एउटा साक्षी होस्।”

यसकारण याकोबले एउटा ढुङ्गा लिए, र त्यसलाई खाँबोजस्तो ठड्याए। अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे। लाबानले त्यसलाई यगर-सहदूता भन्‍ने नाम दिए; तर याकोबले चाहिँ गलेद2 भने।

लाबानले भने, “यो ढुङ्गाको थुप्रो आज तिम्रो र मेरो बीचमा साक्षी हो।” त्यसैकारण त्यसलाई गलेद भनियो। त्यसलाई मिस्पा3 पनि भनियो; किनकि तिनले भने, “हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्। यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्‍यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ” भन्‍ने कुरा याद राख।

लाबानले याकोबलाई यसो पनि भने, “यो ढुङ्गाको थुप्रो र यस खामोलाई हेर, जसलाई मैले मेरो र तिम्रो बीचमा स्थापित गरेको छु। यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ। अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर, अर्थात् उनीहरूका पिताका परमेश्‍वरले हाम्रो बीचमा न्याय गरून्।”

यसकारण याकोबले आफ्ना पिता इसहाकले मानेको भयको नाममा शपथ खाए। याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।

भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।

Source notes (3)
  1. Footnote यो उत्तर-पश्‍चिम मेसोपोटामिया हो।
  2. Footnote गलेद आरामाईक भाषामा यगर-सहदूता हिब्रू भाषामा गलेद यी दुवैको अर्थ साक्षीको थुप्रो भन्‍ने हुन्छ
  3. Footnote मिस्पा जसको अर्थ धरहरा

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.