Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 28

यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू। तुरुन्तै पद्दन-अराममा तेरी आमाका पिता बतूएलको घरमा गइहाल्, र आफ्ना लागि तेरी आमाका दाजु लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्नू। सर्वशक्तिमान् परमेश्‍वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्। उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्‍वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।” तब इसहाकले याकोबलाई बिदा गरे; अनि तिनी पद्दन-अराममा लाबानकहाँ गए। लाबान अरामी बतूएलको छोरा, अर्थात् याकोब र एसावकी आमा रिबेकाका दाजु थिए।

अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्‍ने आज्ञा दिएछन्, र याकोबले आफ्ना बुबा र आमाको आज्ञापालन गरेर पद्दन-अराममा गएको कुरा एसावले थाहा पाए। जब तिनका पिता इसहाकलाई कनानी स्त्रीहरू मन पर्दैन रहेछ भनी एसावले थाहा पाए; तब एसाव इश्माएलकहाँ गए, र आफूसित भएका पत्नीहरूबाहेक तिनले अब्राहामको छोरा इश्माएलकी छोरी, नबायोतकी बहिनी महलतलाई विवाह गरे।

बेथेलमा याकोबको सपना

याकोब बेर्शेबा छोडेर हारानतर्फ लागे। तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए। अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्‍याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्‍वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे। अनि सबैभन्दा माथिचाहिँ1 याहवेह उभिनुभएको थियो, र उहाँले भन्‍नुभयो: “म याहवेह नै तेरा पिता अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ ढल्किरहेको यो ठाउँ तँ र तेरा सन्तानहरूलाई म दिनेछु। तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्।2 म तँसँग छु, र तँ जहाँ जान्छस्, तँलाई रक्षा गर्नेछु; अनि तँलाई यस देशमा फर्काएर ल्याउनेछु। मैले तँसित गरेको प्रतिज्ञा पूरा नगरेसम्म म तँलाई छोड्नेछैनँ।”

जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्‍चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।”

भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए। तिनले त्यस ठाउँको नाम बेथेल3 राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो।

तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो, र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्‍वर हुनुहुनेछ; अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”

Source notes (3)
  1. Footnote अथवा उनको छेउमा
  2. Footnote अथवा आशिष् दिँदा तँ अथवा तेरा सन्तानको नाम प्रयोग गरिनेछ।
  3. Footnote बेथेल जसको अर्थ परमेश्‍वरको घर।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.