Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 11

बाबेलको धरहरा

त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो। मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार1 देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।

तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे। त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”

तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। त्यसपछि याहवेहले भन्‍नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन। आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। त्यसकारण त्यस सहरलाई बाबेल2 भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।

शेमदेखि अब्रामसम्म

शेमका वंशको विवरण यही हो:

जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता3 भए। अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।

जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए। अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।

जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए। अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए। अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए। अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए। अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए। अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए। अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।

अब्रामका वंशहरू

तेरहका वंशको विवरण यही हो:

तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए। आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे। अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए। अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।

तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।

तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।

Source notes (3)
  1. Footnote यो शिनार देश, त्यो समयको बेबिलोन थियो।
  2. Footnote बाबेल मूल भाषामा अलमल
  3. Footnote पिता अथवा पुर्खा ; 11‑25 ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.