Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
उत्पत्ति 10
जाति-जातिहरूका तालिका
नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।
येपेतका वंशहरू
येपेतका छोराहरू:1
गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
गोमेरका छोराहरू:
अश्कनज, रिपत र तोगर्मा।
यावानका छोराहरू:
एलीशा, तर्शीश, कित्तीम र रोदानीम2। (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्न क्षेत्रहरूमा फैलिए।)
हामका वंशहरू
हामका छोराहरू:
कूश, इजिप्ट, पूत र कनान।
कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।
रामाहका छोराहरू:
शेबा र ददान।
कूश निम्रोदका पिता3 थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्काद र कल्नेह हुन्, जुन शिनार4 देशमा छन्। त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।
इजिप्टचाहिँ यिनीहरूका पिता थिए:
लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्तूहीहरू, पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्तोरीहरू।
कनानचाहिँ यिनीहरूका पिता थिए:
आफ्ना जेठा छोरा सीदोन र हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्वी, अरकी, सिनी, अर्वादी, सेमारी र हमातीहरू।
पछि कनानीहरूका कुलहरू फैलिए, अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।
तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।
शेमका वंशहरू
शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।
शेमका छोराहरू:
एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
अरामका छोराहरू:
ऊज, हूल, गेतेर र मेशेक।
अर्पक्षद शेलहका पिता थिए,
अनि शेलहचाहिँ एबेरका पिता थिए।
एबेरका दुई छोराहरू जन्मिए:
एउटाको नाम पेलेग5 राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
योक्तान यिनीहरूका पिता थिए:
अल्मोदद, शेलेप, हसर्मवेत, येरह, हदोराम, ऊजाल, दिक्ला, ओबाल, अबीमाएल, शेबा, ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।
(तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)
तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।
तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्न जातिहरू फैलिँदै गए।
Source notes (5)
- Footnote छोराहरू जसको अर्थ पुर्खाहरू अथवा राष्ट्रहरू भन्ने जनाउँदछ। 3 , 4 , 6 , 7 , 20‑23 , 29 र 31 पदमा पनि।
- Footnote केही प्राचीन पा.लि.हरूले दोदान पनि भनेर चलाएका छन्।
- Footnote पिता जसको अर्थ पुर्खा अथवा जग;
- Footnote यो त्यो समयको बेबिलोन थियो।
- Footnote पेलेग जसको अर्थ विभाजन
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.