Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

गलाती 5

ख्रीष्‍टमा स्वतन्त्रता

स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।

मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ। म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ। तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ। तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ। किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्‍वासको मात्र मूल्य छ।

तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो? परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ। “थोरै खमिरले जम्मै पिठोको ढिकालाई खमिरी बनाइदिन्छ।” म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ। दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ। तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।

पवित्र आत्माबाटको जीवन

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर। किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।”1 तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ।

यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर; किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; अनि परमेश्‍वरको आत्माले शारीरिक स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, ताकि तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले गर्न नसक। यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर। तर यदि तिमीहरू परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।

शारीरिक स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्‍ट आचरण, मूर्तिपूजा र टुनामुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्‍नता, गुटबन्दी, र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैन।

तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। जो ख्रीष्‍ट येशूका हुन्, उनीहरूले शरीरको पापमय स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्। किनकि हामी पवित्र आत्माअनुसार जिउँछौँ भने पवित्र आत्माको नियन्त्रणअनुसार नै हिँडौँ। हामी अहङ्कारी नहोऔँ, एक-अर्कालाई रिस नउठाऔँ र एउटाले अर्कोको ईर्ष्या नगरौँ।

Source notes (1)
  1. Footnote लेवी 19:18

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.