Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
एज्रा 3
वेदीको पुनर्निर्माण
सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए। तब परमेश्वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार होमबलि चढाउनलाई योसादाकका छोरा येशूआ र तिनका सह पुजारीहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका मित्रहरू मिलेर इस्राएलका परमेश्वरको वेदी निर्माण गर्न सुरु गरे। वरिपरिका मानिसहरूको डर तिनीहरूमा भए तापनि तिनीहरूले पुरानो भवन भएकै जगमाथि वेदी बनाए। अनि याहवेहलाई बिहान र बेलुकी दुवै समय होमबलि चढाए। त्यसपछि लेखिएको नियमअनुसार प्रत्येक दिन चढाउनुपर्ने होमबलिको संख्याअनुसार होमबलि चढाएर तिनीहरूले छाप्रोबासको चाड मनाए। त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए। सातौँ महिनाको पहिलो दिनदेखि नै तिनीहरूले याहवेहलाई होमबलि चढाउन थाले। तापनि याहवेहको मन्दिरको जग अझ बसालिएकै थिएन।
मन्दिरको पुनर्निर्माण
त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए।
दोस्रो वर्षको दोस्रो महिनामा तिनीहरू परमेश्वरको पुरानो भवन भएको ठाउँ यरूशलेममा आइपुगे। अनि शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूआ र उनीहरूका बाँकी दाजुभाइहरूले (पुजारीहरू, लेवीहरू र कैदबाट यरूशलेममा फर्कनेहरू सबै) काम सुरु गरे। तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई याहवेहको भवन निर्माणको कामको रेखदेख गर्नलाई नियुक्त गरे। तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका1 सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे।
जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए। तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे:
“उहाँ भलो हुनुहुन्छ;
इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।”
अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो। तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए। इस्राएलीहरूको हर्षको आवाज र रुवाइको आवाज कसैले पनि छुट्याउन सकेन। किनकि तिनीहरूले चर्को सोर निकालेका थिए। तिनीहरूको आवाज टाढा-टाढासम्म सुनिएको थियो।
Source notes (1)
- Footnote मूल भाषामा उनको अर्को नाम यहूदाह
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.