Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
इजकिएल 25
अम्मोनको विरुद्धमा अगमवाणी
याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ, यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्। म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ। किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ। यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।’ ”
मोआबको विरुद्धमा अगमवाणी
“प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;” यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्ला पारिदिनेछु। अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन; अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
एदोमको विरुद्धमा अगमवाणी
“प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो। यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्। म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्नेछन्, प्रभु याहवेह भन्नुहुन्छ।’ ”
पलिश्तीहरूको विरुद्धमा अगमवाणी
“प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे। यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु। म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.