Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
इजकिएल 10
मन्दिरबाट परमेश्वरको महिमा हटेको
तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ। याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले।
त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो। तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो। करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो।
जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्काको छेउमा उभियो। तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो। (करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।)
तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्का गरी चार वटा चक्काहरू देखेँ; ती चक्काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे। तिनीहरूका रूपको विषयमा ती चारै वटा एकै किसिमका देखिन्थे—प्रत्येक चक्काभित्र अर्को चक्का छिरेको जस्तै। ती चक्काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे। जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए। मैले ती चक्काहरूलाई यसो भनिएको सुनेँ, “हुरुरुरु घुम्ने चक्काहरू।” ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो।
तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए। जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे। जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थिए।
तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो। मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
मैले कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ। हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे। मैले कबार नदीको किनारमा देखेका प्राणीहरूको जस्तै तिनीहरूका अनुहारहरू थिए। तिनीहरू प्रत्येक सीधा अगिल्तिर बढ्थे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.