Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
प्रस्थान 7
तब याहवेहले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ। मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्। तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूका संख्या बढाउनेछु। तर फारोले तेरो कुरा सुन्नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु। जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
तब मोशा र हारूनले याहवेहले तिनीहरूलाई आज्ञा दिनुभएझैँ गरे। तिनीहरूले फारोसित कुरा गर्दा मोशा असी वर्ष र हारून त्रियासी वर्ष पुगेका थिए।
हारूनको लहुरो सर्पमा परिणत भएको
याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “जब फारोले तिमीहरूलाई ‘एउटा आश्चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्नू, तब त्यो एउटा सर्प बन्नेछ।”
यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो। तब फारोले बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाए; अनि इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यस्तै कामहरू गरे: प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो। तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्।
रगतको विपत्ति
तब याहवेहले मोशालाई भन्नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यसो भन्न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्नुभएको छैन। याहवेह यसो भन्नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ”
याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू1 र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।”
मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो। नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो।
तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्।
भ्यागुताहरूको विपत्ति
याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो।
Source notes (1)
- Footnote अथवा तिनीहरूका मूर्तिहरू।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.