Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
प्रस्थान 38
होमबलिको वेदी
बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट1 थियो। तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे। तिनले वेदीका सबै सरसामानहरू, भाँडाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँडाहरू काँसोका बनाए। तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो। डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे। बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे। तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए।
धुनको निम्ति बाटा
तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए।
आँगन
त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट2 र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो। त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए। आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
पश्चिमपट्टि पचास क्यूबिट3 चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए। पूर्व वा सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा थियो। मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट4 लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। आँगनका चारैपट्टिका सबै पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका थिए। खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए।
आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट5 उचाइ थियो। त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए। समागम पाल र चारैतिर आँगनका किलाहरू काँसाका थिए।
निर्माणका निम्ति सरसामानहरू
मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो: (यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए। उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।) पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल6 थियो।
सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल7 थियो। बीस वर्ष र त्यसभन्दा बढी उमेर समूहका 6,03,550 पुरुषहरूमध्ये प्रत्येकबाट पवित्र वासस्थानको शेकेलको हिसाबले आधा सेकेल8 थियो। 100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट। तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।
विशेष भेटीको रूपमा अर्पण गरिएका काँसोका भेटी 70 टालेन्ट र 2,400 सेकेल9 थियो। ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए। आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए।
Source notes (9)
- Footnote लगभग लम्बाइ साढे 7 फिट, चौडाइ साढे 7 फिट अनि उचाइ साढे 4 फिट
- Footnote लगभग 150 फिट
- Footnote लगभग 75 फिट
- Footnote लगभग 22 फिट
- Footnote लगभग साढे 7 फिट
- Footnote लगभग 1 मेट्रिक टन
- Footnote लगभग 3.4 मेट्रिक टन।
- Footnote लगभग 5.7 ग्राम
- Footnote लगभग 2.4 मेट्रिक टन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.