Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

प्रस्थान 27

होमबलिको वेदी

“तैँले बबुल काठको तीन क्यूबिट1 अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा2 भएको वर्गाकार होस्। चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू। त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू। त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू। त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्। वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू। ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्। फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।

आँगन

“समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो3 बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू। त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ। उत्तरको भाग पनि एक सय क्यूबिट लामो4 र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।

“आँगनको पश्‍चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा5 हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ। पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा6 हुनुपर्छ। मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट7 लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ, अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट8 लामा पर्दाहरू अर्कोतिर होऊन्।

“आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो9 एउटा पर्दा बनाउनू। आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू। आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा10 हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट11 अग्ला पर्दाहरू हुनुपर्छ। समागम पालको सेवामा प्रयोग गरिने सबै सामानहरू, पालका किलाहरू, आँगनका किलाहरू लगायत सबै, चाहे तिनीहरूका काम जेसुकै होस्, ती काँसाका हुनुपर्छ।

सामदानका लागि तेल

“इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।

Source notes (11)
  1. Footnote लगभग 4 फिट 6 इन्च
  2. Footnote लगभग 7 फिट 6 इन्च लामो र 7 फिट 6 इन्च चौडा
  3. Footnote लगभग 150 फिट लामो
  4. Footnote लगभग 150 फिट लामो
  5. Footnote लगभग 75 फिट चौडा
  6. Footnote लगभग 75 फिट चौडा
  7. Footnote लगभग 22 फिट 6 इन्च
  8. Footnote लगभग 22 फिट 6 इन्च
  9. Footnote लगभग 30 फिट लामो
  10. Footnote लगभग 150 फिट लामो र 75 फिट चौडा
  11. Footnote लगभग 7 फिट 6 इन्च

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.