Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
प्रस्थान 26
समागम पाल
“तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू। ती सबै पर्दाहरू एकै नापका होऊन्—अट्ठाइस क्यूबिट लामो र चार क्यूबिट चौडा।1 पाँच वटा पर्दाहरू एकसाथ गाँस्नू, र अर्को पाँच वटालाई पनि त्यसै गर्नू। पहिलो पाँच पर्दाहरूका किनारै किनारमा निलो रङ्गको सुर्काउनी बनाउनू; अनि अर्को पाँच पर्दाहरूका किनारमा पनि त्यस्तै गर्नू। एउटा समूहका पर्दामा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को समूहका पाँच वटा पर्दाहरूका किनारमा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमने-सामने होऊन्। तब सुनका पचास वटा अङ्कुसेहरू बनाएर तिनीहरूलाई पर्दाहरू एकसाथ बाँध्ने काममा प्रयोग गर्नू र यसरी समागम पाल एउटै इकाई होस्।
“समागम पालमाथिको पालको लागि बाख्राको भुत्लाबाट जम्मा एघार वटा पर्दाहरू बनाउनू। ती एघारै वटा पर्दाहरू एउटै नापका होऊन्—तीस क्यूबिट लामो र चार क्यूबिट चौडा।2 पाँच वटा पर्दाहरू एकसाथ गाँस्नू र बाँकी छ वटा पर्दा एकसाथ गाँस्नू। पालको अगिल्तिर छैटौँ पर्दालाई दोबर गरी पट्याउनू। पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाउनू। त्यसपछि काँसाका पचास वटा अङ्कुसेहरू बनाएर सुर्काउनीहरूमा लगाउनू र पाललाई एउटै एकाइ बनाउनका लागि कस्ने काममा प्रयोग गर्नू। पालका पर्दाहरूको उब्रेको लम्बाइको विषयमा, उब्रेको आधा पर्दा समागम पालको पछिल्तिर झुण्डियोस्। पालका पर्दाहरू दुवै छेउतिर एक क्यूबिट3 लामो होऊन् र उब्रेका भाग समागम पाललाई ढाक्नलाई त्यसका दुवै छेउमा झुण्डिरहून्। पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
“समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाउनू। प्रत्येक फल्याकको लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट4 होस्। त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू होऊन्। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाउनू। समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाउनू; अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाउनू—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा। अर्कोपट्टि समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू बनाउनू; अनि प्रत्येक फल्याकको मुनि दुई वटा आधार गरेर चाँदीका चालीस वटा आधारहरू बनाउनू। पछिल्तिरको भाग, जो समागम पालको पश्चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाउनू; अनि अन्तिम भागमा भएका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाउनू। यी कुनाहरूमा फेददेखि टुप्पोसम्म फल्याकहरू दोबर खप्टिएका होऊन्; अनि एउटै मुन्द्रामा जोडिएका होऊन्; दुवै यस्तै होऊन्। यसरी प्रत्येक फल्याकमुनि दुई वटा गरेर जम्मा आठ वटा फल्याकहरू र चाँदीका सोह्र वटा आधारहरू होऊन्।
“बबुल काठका बारहरू पनि बनाउनू: समागम पालको एकातिरको फल्याकहरूका लागि पाँच वटा, अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए। बीचको बार फल्याकको बीचमा एक छेउदेखि अर्को छेउसम्म पुगोस्। फल्याकहरूलाई सुनले मोहोर्नू, र बारहरू अड्काउनका लागि सुनका मुन्द्राहरू बनाउनू। ती बारहरूलाई पनि सुनले मोहोर्नू।
“मैले तँलाई पर्वतमा देखाएको नमुनाअनुसार समागम पाल खडा गर्नू।
“निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू। चाँदीका चार वटा आधारहरूमा खडा भएका र सुनले मोहोरेका बबुल काठका चार वटा खम्बाहरूमा त्यसलाई सुनका अङ्कुसेहरूले झुण्ड्याउनू। पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ। महा-पवित्रस्थानमा साक्षी पाटीको सन्दुकको माथि पाप समाधान-स्थान राख्नू। टेबुललाई पर्दा बाहिर समागम पालको उत्तरतिर राख्नू; र सामदानलाई त्यसको विपरीततिर दक्षिणपट्टि राख्नू।
“पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले फूल-बुट्टा भएको एउटा पर्दा बनाउनू। त्यस पर्दाका लागि सुनका अङ्कुसेहरू र सुनले मोहोरेका बबुलका पाँच वटा खम्बाहरू बनाउनू; अनि तिनीहरूका लागि काँसाका पाँच वटा आधारहरू बनाउनू।
Source notes (4)
- Footnote लगभग 42 फिट लामो र 6 फिट चौडा
- Footnote लगभग 45 फिट लामो र 6 फिट चौडा
- Footnote लगभग 18 इन्च
- Footnote लगभग 15 फिट लामो र 27 इन्च चौडा
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.