Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
एस्तर 9
अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए। यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्। अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए। राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए।
यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे। राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे। तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता, पोराता, अदलिया, अरीदाता, पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे, जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो। राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”
तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”
यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए। शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्। यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
यसैकारण टाढा-टाढाका सहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।
पूरीम उत्सवको स्थापना
मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए। यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।
यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए। किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए। तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे। (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए। यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्ट हुन दिनुहुन्छ।
यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्। अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए। पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्ने बारेमा लेखिएको थियो। एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्का गर्यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.