Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

एफिसी 3

गैरयहूदीहरूका निम्ति परमेश्‍वरको महान् योजना

यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ—

तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ। जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु। तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ। जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। यो रहस्य के हो भने सुसमाचारमा विश्‍वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्।

परमेश्‍वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ। यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो। अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो। जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ। यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।

एफिसीहरूका निम्ति प्रार्थना

यसैकारण म पिताको सामु घुँडा टेक्दछु, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ। म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक; अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।

अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ; उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.