Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उपदेशक 5

परमेश्‍वरप्रति गरिएको प्रतिज्ञालाई पूरा गर्नु

परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।

परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर,

र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्;

अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर।

किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ,

अनि तिमीचाहिँ पृथ्वीमा छौ;

यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!

जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ;

त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।

जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर। प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो। तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ? धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।

धनसम्पत्ति अर्थहीन छन्

यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ। जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।

जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।

जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन;

यो पनि अर्थहीन छ।

जब धनसम्पत्ति बढ्छ,

तब खाने मुखहरू पनि धेरै बढ्छन्।

अनि ती आँखाले हेर्नुबाहेक

मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?

परिश्रम गर्नेको निद्रा मिठो हुन्छ;

चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्,

तर धनीको प्रचुर धनले गर्दा

त्यसलाई निद्रै लाग्दैन।

मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु:

मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,

अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको;

त्यसका सन्तान भए तापनि

त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।

आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ,

र जस्तो आयो, त्यस्तै फर्किजान्छ।

आफ्नो परिश्रमको कमाइबाट

केही पनि हातमा लिएर जान सक्दैन।

यो पनि एक गम्भीर खराबी हो:

मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ;

तब त्यसलाई के लाभ भयो र,

के त्यसको परिश्रम हावामा नै खेर गएन र?

त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा,

ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।

तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो। त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो। आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.