Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
व्यवस्था 6
याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु
तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्, ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्। हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ। याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर। यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ, तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्त हुनेछौ, तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
याहवेह तिमीहरूका परमेश्वरको भय मान्नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू। तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू; किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ। तिमीहरूले मस्साहमा1 गरेझैँ याहवेह तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू। याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू। याहवेहको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक। अनि याहवेहले भन्नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?” तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो। हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो। तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो। याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्वरको डर मान्नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ। अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”
Source notes (1)
- Footnote पानीको अभावको कारण इस्राएलीहरूले मोशाको विरुद्ध गनगन गरेका थिए। हेर्नुहोस् प्रस 17:1‑7
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.