Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
व्यवस्था 3
बाशानका राजा ओगको पराजय
त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए। याहवेहले मलाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ। त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्यौँ। ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्यौँ। तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ।
यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्यौँ। (सीदोनीहरूले हेर्मोन पर्वतलाई सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्)। हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ। (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा1 थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
कनान देशको विभाजन
त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ। गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो। मनश्शेको सन्तान याईरले अर्गोबको समस्त इलाका, गेशूरी र माकातीहरूका सिमानासम्मै कब्जा गरे। बाशान प्रान्तलाई आफ्नै नाम दिए। आजसम्मै बाशानलाई हब्बोत-याईर2 भनिन्छ)। अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ। तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ। त्यसको पश्चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।
त्यस समयमा मैले तिमीहरूलाई यसरी आज्ञा दिएँ: “याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूले अधिकार गर्नु भनी दिनुभएको छ। तर तिमीहरूका सबै बलिया मानिसहरू युद्धका निम्ति हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूको अगि यर्दन नदी पार गरेर जानुपर्छ। तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्न सक्छन्। जबसम्म याहवेहले तिमीहरूलाई दिनुभएजस्तै तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुहुन्न, र तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई यर्दनपारि दिनुहुने देश प्राप्त गर्दैनन्, तिमीहरूले तिनीहरूलाई मदत गर्नुपर्नेछ। त्यसपछि तिमीहरू हरेक मैले तिमीहरूलाई अधिकार गर्न दिएको देशमा फर्केर जान सक्छौ।”
मोशालाई यर्दन पार गर्नलाई निषेध गरिएको
त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ। तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”
अनि मैले त्यस बेला याहवेहसँग यसरी बिन्ती गरे: “हे प्रभु याहवेह, आफ्नो सेवकलाई आफ्नो महानता र आफ्नो शक्ति तपाईंले देखाउन थाल्नुभएको छ। किनकि स्वर्ग वा पृथ्वीमा कुनचाहिँ देव छ, जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू र कामहरू गर्न सक्छन्? मलाई यर्दन नदी पारिको त्यो उत्तम देशमा जान, त्यो सुन्दर पहाडी मुलुक र लेबनानलाई हेर्न दिनुहोस्।”
तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। याहवेहले भन्नुभयो, “अब भयो, मसँग यस बारेमा फेरि कुरा नगर्। पिसगाको चुचुरोमा चढ्, र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर हेर्। तैँले त्यस देशलाई आफ्नै आँखाले हेर्। किनकि तैँले यर्दन नदी पार गरेर जान पाउनेछैनस्। तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।” यसकारण हामी बेथ-पोरको बेँसीको छेउमा नै बस्यौँ।
Source notes (2)
- Footnote अथवा लगभग 14 फिट लामो र 6 फिट चौडा
- Footnote हब्बोत-याईर अथवा याईरको बस्ती
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.