Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

कलस्सी 2

तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्‍नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु। मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्‍वरको रहस्य, जो ख्रीष्‍ट हुनुहुन्छ; उहाँलाई जान्‍न सकून्। उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्। म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्। किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्‍टमा तिमीहरूको विश्‍वास कति दह्रिलो छ भन्‍ने कुरामा म रमाउँछु।

ख्रीष्‍टमा आत्मिक पूर्णता

जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।

होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा1 आधारित हुन्छन्।

किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ।

जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई2 ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।

मानवीय नियमबाट छुटकारा

यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ दिन मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ। झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ। शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ।

तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ? “नसमात! नचाख! नछोओ!” यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।

Source notes (2)
  1. Footnote अथवा आधारभूत आत्मिकी शक्तिहरू
  2. Footnote केही प्राचीन पा.लि.हरूमा हामीहरू

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.