Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

आमोस 9

इस्राएल ध्वस्त पारिनेछ

मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो:

“खम्बाका टुप्पाहरूमा हिर्का,

ताकि सँघारहरू हल्‍लिऊन्।

सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्;

बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु।

एकै जना पनि भाग्न पाउनेछैन;

एउटै पनि उम्कन पाउनेछैन।

तिनीहरू पातालको गहिराइसम्म गए तापनि

मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ।

तिनीहरू माथि स्वर्गमा उक्ले तापनि

म तिनीहरूलाई तल झार्नेछु।

तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि

त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु।

तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके तापनि

त्यहाँ म तिनीहरूलाई डस्‍न सर्पहरूलाई आज्ञा दिनेछु।

तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि

त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु।

“म मेरो नजर तिनीहरूमाथि राख्नेछु,

भलाइको निम्ति होइन, तर खराबीको निम्ति।”

प्रभु, सेनाहरूका याहवेह,

उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ;

अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्;

सारा देश नील नदीझैँ माथि उठ्नेछ,

त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;

उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ,

र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ;

उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,

र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ,

उहाँको नाम याहवेह हो।

“के तिमी इस्राएलीहरू मेरा निम्ति

कूशका सन्तानजस्ता छैनौ र?”

याहवेहले घोषणा गर्नुहुन्छ।

“के मैले इस्राएललाई इजिप्टबाट,

पलिश्तीहरूलाई कप्‍तोरबाट,

र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?

“निश्‍चय नै प्रभु याहवेहको दृष्‍टि

यो दुष्‍ट राज्यमाथि छ।

म यसलाई पृथ्वीको

सतहबाट ध्वस्त गर्नेछु।

तापनि म याकोबको घरानालाई

सम्पूर्ण रूपले नाश गर्नेछैनँ,”

याहवेह घोषणा गर्नुहुन्छ।

“किनकि म आज्ञा दिनेछु,

र इस्राएलको घरानालाई

सबै राष्ट्रहरूका बीचमा यसरी हल्‍लाउनेछु,

जसरी चाल्नीमा अन्‍नलाई चालिन्छ;

तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्‍नेछैन।

मेरा मानिसहरूका बीचमा भएका

सबै पापीहरू तरवारले मारिनेछन्;

तिनीहरू सबै जना, जसले यसो भन्छन्,

‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’

इस्राएलको पुनर्स्थापन

“त्यस दिन,

“म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु,

अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु;

अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु,

अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,

ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई

र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,”

याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।

याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्,

“जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ,

र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ।

नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्,

र सबै डाँडाहरूबाट ती बग्नेछन्।

म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु।

“तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्,

र ती सहरहरूमा बसोबास गर्नेछन्।

तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्;

तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।

म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु,

मैले तिनीहरूलाई दिएको

देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,”

याहवेह तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.