Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

आमोस 7

सलह, आगो र नाप्‍ने टाँगो

प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्‍लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो। जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”

यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।

याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”

प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो। त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”

यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।

प्रभु याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”

उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्‍ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्‍ने साहुल लिएर खडा हुनुभएको थियो। अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”

मैले जवाफ दिए, “एउटा नाप्‍ने साहुल देख्दैछु।”

त्यसपछि प्रभुले भन्‍नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”

“इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्;

र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्;

म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”

आमोस र अमस्याह

त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन। किनकि आमोसले यसो भनिरहेका छन्:

“यारोबाम तरवारद्वारा मारिनेछ;

र इस्राएल निश्‍चय नै तिनीहरूका

स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”

त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर। अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”

आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ। तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्‍नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’ यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ,

“ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर,

र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’

“यसकारण याहवेह यसो भन्‍नुहुन्छ:

“ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे,

र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्।

तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ;

अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्।

अनि इस्राएलचाहिँ निश्‍चय नै

आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.