Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

आमोस 1

आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।

तिनले भने:

“याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ,

र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ;

गोठालाका खर्कहरू सुकेर जान्छन्

र कर्मेलको टाकुरा ओइलाउँछ।”

इस्राएलका छिमेकीहरूमाथि न्याय

याहवेह यसो भन्‍नुहुन्छ:

“दमस्कसका तीन वटा पापहरूका कारण,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि त्यसले फलामका दाँतहरू भएका

डण्डाले गिलादलाई दाइँ गरेकी छे;

म हजाएलको घरमा आगो पठाउनेछु,

जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।

म दमस्कसका ढोकालाई फोरिदिनेछु;

म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु;

अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु।

अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,”

याहवेहले भन्‍नुहुन्छ।

याहवेह यसो भन्‍नुहुन्छ:

“गाजाका तीन वटा पापहरूका कारण,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे;

अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;

म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु,

जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।

म अश्दोदको राजा

र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु।

सबै पलिश्तीहरू नमरेसम्म,

म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,”

प्रभु याहवेह भन्‍नुहुन्छ।

याहवेह यसो भन्‍नुहुन्छ:

“टायरका तीन वटा पापहरूका कारण,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै

एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;

म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु,

जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”

याहवेह यसो भन्‍नुहुन्छ:

“एदोमका तीन वटा पापहरूका कारण,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो,

र देशका स्त्रीहरूलाई मार्‍यो;

किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो,

र त्यसको रिसको ज्वाला दन्किरह्‍यो।

म तेमानमाथि आगो पठाउनेछु;

त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।”

याहवेह यसो भन्‍नुहुन्छ:

“अम्मोनका तीन वटा पापहरूका कारण,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति

गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।

म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु,

जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ;

लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा,

र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।

रब्बाका राजाका1 साथै तिनी र तिनका अधिकारीहरू

सबै एकसाथ निर्वासनमा लगिनेछन्,”

याहवेह भन्‍नुहुन्छ।

Source notes (1)
  1. Footnote अथवा मोलेखका

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.