Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
2 शमूएल 9
दावीद र मपीबोशेत
दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”
शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?”
त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।”
राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्वरको दया देखाउन सकूँ?”
सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।”
राजाले सोधे, “तिनी कहाँ छन्?”
सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”
यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।
जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे।
दावीदले भने, “मपीबोशेत!”
तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।”
दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”
मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”
तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु। तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)
तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए।
मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.