Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

2 शमूएल 8

दावीदका विजयहरू

समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।

दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।

यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए। दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू1 र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।

जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।

दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। हददेजेरका सहरहरू तेबह2 र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।

जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई3 पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।

राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे। ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।

नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।

तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।

दावीदका अधिकारीहरू

दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए। बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार4 थिए।

Source notes (4)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा 1,700 भनिएको छ।
  2. Footnote केही प्राचीन पा.लि.हरूमा बेतह
  3. Footnote यसको अर्को नाम हो हदोराम
  4. Footnote मूल भाषामा, पुजारी

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.