Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
2 शमूएल 4
ईश्बोशेतको हत्या
जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भएको खबर सुने, तब तिनको हिम्मत हरायो; अनि सारा इस्राएल भयभीत भए। शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो। किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्।
(शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।)
अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए। तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्क भागे।
ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे। तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दावीदकहाँ लगेर राजालाई भने, “तपाईंको प्राण लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको शिर यहाँ छ। आजको दिन याहवेहले शाऊल र तिनका छोराको विरुद्धमा मेरा मालिक राजाको बदला लिनुभएको छ।”
तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जब एउटा मानिसले मलाई भन्यो, ‘शाऊल मर्यो,’ अनि त्यसले आफूले असल समाचार ल्याएको भन्ने सोच्यो। तर त्यसलाई सिक्लगमा पक्रेर मैले मारिदिएँ। त्यसको समाचारको निम्ति मैले त्यसलाई त्यसरी नै प्रतिफल दिएँ! अब झन् आफ्नै घरमा, आफ्नै पलङमा सुतिरहेका एक जना निर्दोष मानिसलाई दुष्ट मानिसहरूले मारेका छन् भने कति बढी दण्ड दिनुपर्ला। अब मैले तिमीहरूको हातबाट उसको रगतको बदला नलिने र पृथ्वीबाट तिमीहरूको नामनिशानै नमेटाइदिने र!”
यसकारण दावीदले आफ्ना मानिसहरूलाई आज्ञा दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले हात र खुट्टा काटिदिए। अनि तिनीहरूका शरीर हेब्रोनको तलाउको छेउमा झुण्ड्याए। तर तिनीहरूले ईश्बोशेतको शिरलाई लिएर त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.