Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
2 इतिहास 12
शीशकले यरूशलेममाथि आक्रमण गरेका
राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले1 याहवेहको व्यवस्था त्यागे। तिनीहरू याहवेहप्रति अविश्वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा, बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्किया र कूशीहरूका असंख्य दलहरू थिए। तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए।
तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ”
इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।”
तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन। तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”
इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे। यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए। राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।
रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।
राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्। रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्टता गरे।
रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्यो। रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।
Source notes (1)
- Footnote अर्थात्, यहूदा
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.