Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

2 इतिहास 1

सोलोमनले बुद्धि मागेका

दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो।

सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित। सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो। दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए। सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए।

त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”

सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ। अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ। मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?”

परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्। यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।”

तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।

सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा1 थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे। राजाले यरूशलेममा चाँदी र सुन ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए। सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट2 आयात गरिन्थ्यो; अनि राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे। तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा,3 र एउटा घोडा एक सय पचास शेकेलमा4 किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।

Source notes (4)
  1. Footnote अर्थात्, घोडचढीहरू
  2. Footnote सम्भवतः सिलिसिया
  3. Footnote अर्थात्, लगभग 6.9 किलो
  4. Footnote अर्थात्, लगभग 1.7 किलो

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.