Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1 शमूएल 31
शाऊलको मृत्यु
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए। पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए।
शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्ली उडाउनेछन् र मार्नेछन्।”
तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्यो। यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे।
जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे।
भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए। तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए।
जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने; तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए। त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.