Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 शमूएल 29

आकीशले दावीदलाई सिक्लगमा फर्काइदिएका

पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले। जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए। पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्?

आकीशले जवाफ दिए, “के यिनी दावीद होइनन् र? जो इस्राएलका राजा शाऊलका अधिकृत थिए। यिनी मसँग एक वर्षभन्दा बढी समयदेखि छन्; अनि यिनले शाऊललाई छोडेदेखि अहिलेसम्म मैले यिनमा कुनै दोष भेट्टाएको छैनँ।”

तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र? के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र?

“शाऊलले हजारौँ-हजारलाई मारे,

तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।”

यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्‍ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्। अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।”

दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?”

तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्‍टिमा परमेश्‍वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’ अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।”

यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.