Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 शमूएल 23

दावीदले कीलाहको रक्षा गरेका

जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,” तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?”

याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।”

तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”

दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।” यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्‍याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए। (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।)

शाऊलले दावीदलाई खेदेका

दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्‍वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।” अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए।

जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।” दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ। के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।”

याहवेहले भन्‍नुभयो, “अवश्य, शाऊल आउनेछ।”

फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?”

याहवेहले भन्‍नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”

यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।

दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।

जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए। तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए। जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।” दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।

जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र? अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”

शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्। जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु। त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्‍का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।”

यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए। शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए।

शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे, तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।” तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत1 भने। दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।

Source notes (1)
  1. Footnote हम्मालेकोत अथवा विभाजनको चट्टान

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.