Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 शमूएल 11

शाऊलले याबेशको सहर छुटाएका

अम्मोनी नाहाशले1 याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”

तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”

याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”

जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए। त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।

जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए। तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के। जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।

तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए। याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”

भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्।

शाऊल राजा घोषित भएका

मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”

तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”

तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।” यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।

Source notes (1)
  1. Footnote अम्मोनीहरूका राजा नाहाशले गादी र रुबेनीहरूलाई धेरै सताए। तिनले ती सबैका दाहिने आँखा निकालिदिए, जसको कारण इस्राएलमा ठूलो आतङ्क छाएको थियो। अम्मोनीहरूबाट भागेर गिलादमा प्रवेश गरेका 7000 मानिसहरूबाहेक यर्दनभन्दा टाढाका सबै मानिसहरूको दाहिने आँखा निकालिएका थिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.