Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1राजाहरू 21
नाबोतको दाखबारी
केही समय बितेपछि यिजरेली नाबोतको दाखबारीको विषयलाई लिएर एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलको छेउमा थियो। आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”
तर नाबोतले जवाफ दिए, “आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन सक्दिनँ। याहवेहले यसो हुन नदेऊन्।”
यिजरेली नाबोतले “म आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिनेछैनँ” भनेको सुनेर आहाब उदास र क्रोधित भएर घर गए। तिनी खिन्न भई आफ्नो ओछ्यानमा ढल्किरहे, र केही पनि खाएनन्।
तिनकी पत्नी ईजेबेलले भित्र आएर तिनलाई सोधिन्, “तपाईं किन उदास हुनुहुन्छ? तपाईं किन केही खानुहुन्न?”
तिनले उनलाई जवाफ दिए, “किनकि मैले यिजरेली नाबोतलाई भनेँ, ‘मलाई तिम्रो दाखबारी बेच, अथवा यदि तिमी चाहन्छौ भने त्यसको सट्टामा म अर्को दाखबारी दिनेछु।’ तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिन्नँ।’ ”
तिनकी पत्नी ईजेबेलले भनिन्, “के तपाईंले इस्राएलमा यसरी नै राजा भएर काम गर्नुहुन्छ? उठेर खानुहोस्। प्रसन्न रहनुहोस्। म तपाईंलाई यिजरेली नाबोतको दाखबारी दिलाउनेछु।”
यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्। ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्:
“उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू। तर त्यसको सामु दुई जना दुष्ट व्यक्तिहरूलाई बसाउनू। अनि त्यसले परमेश्वर र राजा दुवैलाई सरापेको छ भनी तिनीहरूलाई साक्षी दिन लगाउनू। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार्नू।”
यसकारण नाबोतको सहरमा बस्ने ती प्रधानहरू र भारदारहरूले ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा हुकुम दिएअनुसार गरे। तिनीहरूले उपवासको दिन घोषणा गरे; अनि नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा बसाए। तब दुई नीच व्यक्तिहरू आएर त्यसका सामु बसे; अनि “नाबोतले परमेश्वर र राजा दुवैलाई सरापेको छ” भनेर नाबोतको विरुद्धमा अभियोग लगाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे। तब तिनीहरूले ईजेबेलकहाँ यसो भनी खबर पठाइदिए, “नाबोतलाई ढुङ्गाले हानेर मारियो।”
नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्ने ईजेबेलले सुन्नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।” जब आहाबले नाबोत मरेको सुने, तब तिनी उठेर यिजरेली नाबोतको दाखबारीमाथि अधिकार गर्न गए।
तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो: “सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ। त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ”
आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?”
तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्टिमा दुष्टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो। तिनले भने, ‘अब म तपाईंमाथि विपत्ति ल्याउनेछु। म तपाईंका सन्तानहरूलाई भस्म पार्नेछु र कमारा होस् कि फुक्का, आहाबका प्रत्येक पुरुषलाई नाश गर्नेछु। म तपाईंका घरानालाई नबातका छोरा यारोबाम र बाशाका छोरा अहीयाहको जस्तै बनाउनेछु। किनकि तपाईंले मलाई रिस उठाउनुभयो र इस्राएललाई पाप गर्न लगाउनुभयो।’
“ईजेबेलको विषयमा पनि याहवेह भन्नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’
“आहाबका जति जना सहरमा मर्छन्, तिनीहरूलाई कुकुरहरूले खानेछन्, र गाउँमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।”
(आहाबजस्तो आफ्नी पत्नी ईजेबेलद्वारा उक्साइएर याहवेहको दृष्टिमा दुष्टता गर्न आफैँलाई बेच्ने अर्को मानिस कहिल्यै कोही थिएन। एमोरीहरूलेझैँ आहाबले मूर्तिहरूको पछि लागेर तिनले अति नै नीच काम गरे। ती एमोरीहरूलाई याहवेहले इस्राएलीहरूका सामुबाट धपाउनुभएको थियो।)
यो कुरा सुनेपछि आहाबले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लगाए, र उपवास बसे। तिनी भाङ्ग्रा लगाएरै सुते, र उदास भई हिँडे।
तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो, “आहाबले आफूलाई मेरो सामु विनम्र तुल्याएको के तैँले ध्यान दिइस्? त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउनेछैनँ, तर त्यसको छोराको समयमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.