पवित्र बाइबल
जकरिया 6
अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए । पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू, तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए । यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?” ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् । कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।” यी बलिया घोडाहरू बाहिर निस्के र पृथ्वीमाथि परिवहन गर्न थाले, यसैले स्वर्गदूतले भने, “जाओ र पृथ्वीमाथि घुम!” र तिनीहरू सबै पृथ्वीतिर गए । त्यसपछि तिनले मलाई बोलाएर भने, “उत्तरको देशमा गइरहेकालाई हेर, तिनीहरूले त्यहाँ मेरो आत्मालाई प्रसन्न बनाएका छन् ।” यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो, “निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा । अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे । त्यसलाई यस्तो भन्नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ! त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ । मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति दिइनेछ । टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.