पवित्र बाइबल
रोमी 4
तब हामी के भनौँ त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ? यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन । किनकि धर्मशास्त्रले के भन्छ ? “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।” अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ । दाऊदले पनि कामविना नै परमेश्वरले धार्मिकता गान्नुभएको मानिसलाई आशिष् घोषणा गर्छन् । उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।” त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्वरले पापको लेखा राख्नुहुन्न ।” तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो ।” त्यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो । अब्राहामले खतनाको चिन्ह पाए । यो विश्वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो । किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्वासको धार्मिकताद्वारा थियो । किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो । किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन । यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् । जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ । यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । उनी विश्वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्ने पनि उनले स्वीकार गरे । तर परमेश्वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्वासमा रोकिएनन् । बरु, उनलाई विश्वासमा बलियो बनाइयो र उनले परमेश्वरको प्रशंसा गरे । परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्वस्त थिए । त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो । अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन । यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं । यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.